बेसीशहर नगरपालिका वडा नम्बर ४ पुरानकोट टारी गाउँका स्थानीय देशकै नमूना कृषि तथा पशु फार्म संचालनमा जुटेका छन् । गाउँकै बेसी छविसे फाँटमा करिब १ सय रोपनी जग्गामा उनीहरु कृषि तथा पशु फार्म संचालन गर्न जुटेका हुन् ।

विगत डेढ बर्षदेखी गाउँमै करिब १ सय गाई÷भैसी पाल्दै आएका उनीहरु यसैमा भविष्य देखेर बृहत रुपमा एकीकृत रुपमा फार्म संचालन गर्न लागेक हुन् । पुरानकोट तिलनदी कृषि, पशु, पन्छि अध्ययन–अनुसन्धान विकास फार्म प्रा.लि. बनाएर स्थानीय १२ जनाले फार्म संचालन गर्न शुरु गरेका छन ।
एकीकृत फार्मको शुक्रबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शिलान्यास गर्दै बृहत रुपमा संचालन गर्न लागिएको फार्मले रोजगारी सिर्जना गर्दै पशु र कृषिको क्षेत्रमा नमूना काम गर्नु पर्ने बताउनु भयो । निर्वाहमूखि परम्पराको अत्य गर्दै ब्यबसायिक रुपमा काम गर्दा आय आर्जनमा परिवर्तन ल्याउन सकिने भन्दै नगरपालिका स्थानीयले देखाएको यो उत्साहमा सधै साथ रहने र सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका लमजुङका प्रमुख रोहिणीराज घिमिरेले कृषिमा आधुनिकरण र ब्यबसायिककरणबाट मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताउनु भयो । बेसीशहर नगरपालिकाका पशु शाखा प्रमुख हरि बहादुर धितालले नगर भित्र कृषि र पशुका क्षेत्रमा विकास गर्न नगरपालिका लागि रहेको र यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाको पछिल्लो समय विकास भएको बताउनु भयो ।
कार्यक्रममा पुरानकोट तिलनदी कृषि, पशु, पन्छि अध्ययन–अनुसन्धान विकास फार्म प्रा.लि.का अध्यक्ष ऋषिकान्त खनालले छुट्टा छुट्टै रुपमा पशुपालन गरिएकोमा अब देखी एकीकृत रुपमा संचालन गरी २ सय गाई÷भैसी, तरकारी खेती, बंगुर पालन लगाएतको फार्म संचालन गरिने र त्यसलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरिने योजना रहेको बताउनु भयो ।
एकीकृत फार्म संचालनको अभियान शुरु गरेपछि देश भित्र र बाहिर रहेकाहरु समेत गाउँ फर्कन थालेका छन् । गाँउमै केही गर्नुपर्छ भन्ने उदेश्यले उनीहरु फर्केका अध्यक्ष खनालले बताउनु भयो । खनाल भन्नुुहुन्छ‘ हामी गाउँभरी बाँझो जमीन राख्दैनौ । पशु र कृषिको क्षेत्रमा अध्ययन गर्ने विश्वविद्यालय जस्तो बनाउँछौ ।’
गाउँमा कृषि र पशुको क्षेत्रमा काम अघि बढ्न थालेपछि अमेरिकामा राम्रै आम्दानी गर्नु भएका नारायण अधिकारी अमेरिका छोडेर गाउँ फर्कनु भएका छ । त्यस्तै चितवन बसेर ब्यबसाय गर्दै आउनु भएका विष्णु विलास ढुंगाना, विनय ढुंगाना, दिपकराज खनाल, यादव घिमिरे, काठमाण्डौंबाट लक्ष्मण ढुंगाना, कंन्चनपुरबाट पूर्णकान्त खनाल लगायत पुन गाउँ फर्केर अभियानमा सहभागि हुनु भएको छ ।
कार्यक्रममा नेकपा बेसीशहर नगर कमिटीका सचिव शोभा थापा, नेपाली काँग्रेस वडा नम्बर ४ का सभापति गुरु प्रसाद ढुंगाना, पुर्नरमिलन आमा समुहका अध्यक्ष सूर्य कुमारी ढुंगाना लगायतले मन्तब्य ब्यक्त गर्दै पशु र कृषि क्षेत्रको उन्नतीबाट मात्र प्रगती हासिल गर्नुपर्ने बताउनु भयो ।
पुरानकोट तिलनदी कृषि, पशु, पन्छि अध्ययन–अनुसन्धान विकास फार्म प्रा.लि.का अध्यक्ष ऋषिकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष विष्णु विलास घिमिरेले गर्नु भएको थियो भने सहजीकरण फर्मका संचालक नारायण अधिकारीले गर्नु भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्